नवलपरासी । नवलपरासी ख्रीष्टियन मण्डली परिषद्ले प्राकृतिक विपद्बाट प्रभावित नागरिकको सहयोगका लागि १ लाख १० हजार ४९ रुपैयाँ प्रधानमन्त्री विपद् राहत कोषमा जम्मा गरेको छ। परिषद्ले जिल्ला प्रशासन कार्यालय नवलपरासीमार्फत उक्त रकम कोषमा जम्मा गरेको हो।
परिषद्का अनुसार यही भदौ १० गते तिब्बततर्फबाट भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवनलगायत जिल्लामा ठूलो जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गर्दै प्रभावित परिवारलाई राहत तथा पुनःस्थापनामा सहयोग गर्ने उद्देश्यले रकम संकलन गरिएको हो।
नवलपरासी ख्रीष्टियन मण्डली परिषद्को आह्वानमा विभिन्न मण्डली (चर्च) हरूबाट स्वेच्छिक रूपमा आर्थिक सहयोग संकलन गरिएको पत्रमा उल्लेख छ। संकलित रु. १,१०,०४९ (अक्षरेपी एक लाख दश हजार उनन्चास रुपैयाँ) प्रधानमन्त्री विपद् राहत कोषमा जम्मा गरिएको परिषद्ले जनाएको छ।
परिषद्ले विपद्मा परी ज्यान गुमाउने नेपाली तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ। साथै घाइते तथा प्रभावित सबैको शीघ्र स्वास्थ्यलाभ र सुरक्षित जीवनको कामना गरेको छ।
परिषद्का सचिव पास्टर आमाेश तामाङ र अध्यक्ष पास्टर कृष्ण बहादुर तामाङद्वारा हस्ताक्षरित पत्र जिल्ला प्रशासन कार्यालय नवलपरासीमा बुझाइएको हो। पत्रसँग रकम जम्मा गरेको माइनटको प्रतिलिपि र रकम संकलन गरिएको नामावली विवरणसमेत संलग्न गरिएको छ।