बर्दघाट । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–५, भैरमपुरमा आदर्श लक्ष्मी पूजा समितिको आयोजनामा विराट कुस्ती (दंगल) प्रतियोगिता सम्पन्न भएको छ।
समितिका अध्यक्ष किशुन कुर्मीको अध्यक्षता तथा पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नं. १ का संघीय सांसद विक्रम खनालको प्रमुख आतिथ्यतामा प्रतियोगिता सम्पन्न भएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सांसद खनालले समाजमा साना–साना विषयले निम्त्याउने द्वन्द्व र मनमुटावको अन्त्य गरी समाज परिवर्तनका लागि सबै जाति, भाषा र धर्मका मानिस एकजुट भएर अघि बढ्नुपर्ने बताए। सामाजिक सद्भाव, आपसी एकता र सहकार्यबाट मात्रै समाज रूपान्तरण सम्भव हुने उनको भनाइ थियो।
त्यस्तै, कार्यक्रमलाई सम्बोधन गर्दै प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले नेपाल–भारत सीमाक्षेत्रमा लामो समयदेखि हुँदै आएको दंगल प्रतियोगितालाई निरन्तरता दिन गाउँपालिकाले आवश्यक सहयोग गर्ने बताए। खेलकुदले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै आपसी सद्भाव र भाइचारा अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्दै उनले यस्ता प्रतियोगिताको संरक्षण र प्रवर्द्धनमा स्थानीय सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए।
आयोजकका अनुसार प्रतियोगितामा नेपाल तथा भारतका गरी ७० जना खेलाडीको सहभागिता रहेको थियो।
कार्यक्रममा प्रतापपुर गाउँपालिका–५ का वडाध्यक्ष रमेश वानिया, वडा नं. ४ का वडाध्यक्ष जन्त्री बरई तथा राष्ट्रिय स्वतन्त्र पार्टीका युवा नेता आदित्य पालले खेलकुदले स्वास्थ्य, दुई देशबीचको सम्बन्ध र खेलाडीको व्यक्तिगत पहिचान स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए। उनीहरूले खेलाडीलाई खेलका नियम र मर्यादाको पालना गर्दै प्रतिस्पर्धामा सहभागी हुन आग्रह गरेका थिए।
प्रतियोगितामा मोतिलाल यादवले निर्णायकको भूमिका निर्वाह गरेका थिए भने कार्यक्रमको सञ्चालन राजेश ठाकुरले गरेका थिए।