पारिजात सामुदायिक वन उपभोक्ता समूह, बर्दघाट–४ को २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।
समूहका अध्यक्ष कमानसिंह थापाको अध्यक्षता तथा डिभिजन वन कार्यालय नवलपरासीका वरिष्ठ वन अधिकृत रविन्द्रनाथ चौधरीको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले सामुदायिक वनले गर्दै आएका गतिविधि महत्वपूर्ण रहेको बताउँदै वन समूहका कामलाई पारदर्शी र मितव्ययी ढंगले सञ्चालन गर्न सुझाव दिए।
त्यस्तै, बर्दघाट नगरपालिकाका वन तथा वातावरण फोकल पर्सन कृष्ण थापा क्षेत्रीले नगरभित्रका सामुदायिक वनहरू नगरपालिकासँग आवश्यक समन्वय र सहकार्यबिना सञ्चालन भइरहेकोप्रति असन्तुष्टि व्यक्त गरे। उनले संघीय तथा प्रदेश सरकारले बनाएका ऐन–कानुनको पालना गर्दै स्थानीय सरकारसँग समन्वय गरेर सामुदायिक वन सञ्चालन हुनुपर्ने बताए। उनले वन समूहलाई नियमसंगत रूपमा काम गर्ने वातावरण बनाउन डिभिजन वन कार्यालयको ध्यानाकर्षणसमेत गराए।
सभामा समूहका संस्थापक सचिव सिद्धविलास हमाल, पूर्वअध्यक्ष डिलाराम चालीसे, बर्दघाट खानेपानी संस्थाका अध्यक्ष दीपक लम्साल, चिसापानी सामुदायिक वनका अध्यक्ष होमबहादुर गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापति प्रकाश रिमाल तथा नेकपा एमालेका नगर सचिव चोलाकान्त भट्टराईलगायतले धारणा राखेका थिए।
समूहका उपाध्यक्ष राजबहादुर पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव दिलकुमारी कुँवरले गरेकी थिइन्।
सभामा अध्यक्ष कमानसिंह थापाले समूहको प्रगति प्रतिवेदन, सचिव दिलकुमारी कुँवरले प्रशासनिक प्रतिवेदन, कोषाध्यक्ष नारायण चौधरीले आर्थिक प्रतिवेदन, लेखा समिति संयोजक प्रेमबहादुर विश्वकर्माले लेखा समितिको प्रतिवेदन तथा युवराज पाण्डेले अनुगमन तथा मूल्याङ्कन समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए।
प्रस्तुत प्रतिवेदन अनुसार पारिजात सामुदायिक वन उपभोक्ता समूहले आ।ब। २०८२—०८३ मा ८७ लाख २३ हजार ७ सय २७ रुपैया आम्दानी गरेको छ भने १ करोड ७ लाख ४१ हजार ९ सय २५ रुपैया खर्च गरेको प्रतिवेदनमा उल्लेख गरीएको छ । जस्मा यो बर्ष समूह २० लाख १८ हजार १ सय ९८ रुपैया घाटामा गएको जनाईएको छ । समूहले यो बर्षको घाटापूर्तिका लागि गत वर्षको बचत रकम ४१ लाख ५७ हजार २ सय ९९ बाट खर्च गरेको समूहका कोषाध्यक्ष नारायण चौधरीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा उल्लेख गरिएकोछ ।
४ हजार ५ सय उपभोक्ता घरधुरी संख्या रहेको पारिजात सामुदायिक वन उपभोक्ता समूहले पटक–पटक आफनो समूहको विद्यान संसोधन गर्ने भने पनि अहिले सम्म समूह स्थापना साल २०५४ कै बिद्यानमै सञ्चालन गरिएकोछ ।
.jpeg)
बर्दघाट वडा नं. ४,६,१२ र १३ सहित सरावल को वडा नं. ६ र ७ लाई आफ्नो सेवा क्ष्ँेत्र मानेर सञ्चालनमा रहेको पारिजात सामुदायिक वन उपभोक्ता समूहमा यो वर्ष ढलापढा गोलीया काठ ३ हजार ३ सय ४८।५८ क्यूफिट उत्पादन गरेको छ भने १ हजार ३ सय २.६ क्युफिट बिक्रि गरेको र २ हजार ४६.५२ क्युफिट काठ घाटगद्दीमा सुरक्षित स्टक रहेको समूहको अनुगमन समितिले पृष्टि गरेको जनाएको छ । उक्त काठ ४६ लाख ६४ हजार १ सय ३० रुपैया मुल्य बरावरको रहेको र समूहले विगत देखिको असुल गर्नु पर्ने रकमलाई समेत असुली गर्न नसकेको लेखा परिक्षक बिष्णु प्रसाद चापागाईले गरेको लेखापरिक्षण प्रतिवेदनमा देखिन्छ ।