विनयी त्रिवेणी गाउँपालिका–६, शिवपुरगढीमा रहेको ब्लुमिङ्ग बड्स बोर्डिङ स्कुलले बाढीपीडितको राहत तथा उद्धारका लागि रु. ५५ हजार सहयोग गरेको छ।
विद्यालयका बालबालिका, शिक्षक–कर्मचारी, बाल क्लब, जुनियर रेडक्रस सर्कल तथा विद्यालय व्यवस्थापन समितिको संयुक्त पहलमा संकलित उक्त रकम नवलपुर प्याब्सनमार्फत प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरिएको विद्यालयका प्रिन्सिपल सन्तोष रौनियारले जानकारी दिए।
बाढीका कारण पीडामा परेका नागरिकलाई सहयोग गर्ने उद्देश्यले विद्यालय परिवारले आर्थिक सहयोगसँगै राहत सामग्रीसमेत उपलब्ध गराएको जनाएको छ। विशेषगरी विद्यालयको बाल क्लब तथा जुनियर रेडक्रस सर्कलको पहलमा राहत सामग्री प्रदान गरिएको विद्यालयले जनाएको छ।
सानै उमेरदेखि बालबालिकामा सेवा, सहयोग र मानवीयताको भावना विकास गराउने उद्देश्यले गरिएको यो पहलले सामाजिक उत्तरदायित्वप्रतिको विद्यालयको प्रतिबद्धता देखाएको छ।
विद्यालय परिवारले विपद्को समयमा पीडित नागरिकको साथमा उभिनु सबैको साझा दायित्व भएको भन्दै ‘सहयोगका हातहरू, आशाका किरणहरू’ भन्ने भावनासहित आफूहरू सधैँ पीडितको साथमा रहने जनाएको छ।
बालबालिकालाई पाठ्यपुस्तकको ज्ञानसँगै मानवीयता, सहानुभूति र सामाजिक सेवाको व्यवहारिक शिक्षा दिन सकिएमा भविष्यमा जिम्मेवार नागरिक निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विद्यालयको विश्वास छ।