बर्दघाट ।
हाम्रो सुपर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। संस्थाका कार्यवाहक अध्यक्ष मनोहर रायमाझीको अध्यक्षता तथा नेफ्स्कूनका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो।
साधारण सभाले संस्थाको रिक्त अध्यक्ष पदमा कार्यवाहक अध्यक्ष मनोहर रायमाझीलाई सर्वसम्मत चयन गरेको छ। यस्तै, उपाध्यक्षमा मायादेवी खरेल र लेखा समिति सदस्यमा यसबहादुर बराल मगरलाई समेत सर्वसम्मत चयन गरिएको संस्थाले जनाएको छ।
संस्थाले यस वर्ष साधारण सभालाई नयाँ प्रयोगका रूपमा विभिन्न चरणमा सम्पन्न गरेको थियो। असोज १६ गते संस्थाका सबै सेवा केन्द्रमा एकै दिन इकाइ भेला आयोजना गरिएको थियो भने असोज १७ गते मुख्य कार्यालयको इकाइ भेला सम्पन्न गरिएको थियो। त्यसपछि असोज १८ गते प्रमाणित साधारण सभा सम्पन्न गरिएको हो।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा निवर्तमान अध्यक्ष विष्णुप्रसाद बराल, लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघका सञ्चालक तथा संस्थाका पूर्व अध्यक्ष एवं वर्तमान सल्लाहकार खेमराज सुवेदी, नवलपरासी जिल्ला समन्वय समितिका सदस्य धनीराम चौधरी, बर्दघाट नगरपालिका–७ का वडाध्यक्ष ध्रुव थारूलगायत विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रम संस्थाका सचिव कमला गुरुङले सञ्चालन गरेकी थिइन्।
साधारण सभाका अवसरमा संस्थाले विभिन्न विधामा उत्कृष्ट शेयर सदस्य, कर्मचारी तथा सञ्चालकलाई सम्मान गरेको छ। उत्कृष्ट नियमित बचतकर्ता, उत्कृष्ट कारोबार बचतकर्ता, उत्कृष्ट क्यूआर प्रयोगकर्ता, उत्कृष्ट बाल बचतकर्ता, उत्कृष्ट कर्मचारी र उत्कृष्ट सञ्चालकलाई सम्मान गरिएको हो।
त्यसैगरी, कक्षा १ देखि १२ सम्म उत्कृष्ट अंक प्राप्त गरी उत्तीर्ण भएका शेयर सदस्यका बालबालिकालाई समेत सम्मान गरिएको संस्थाले जनाएको छ।
साधारण सभाले नयाँ नेतृत्व चयनसँगै संस्थाको आगामी कार्यदिशा र सहकारी गतिविधिलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।