बर्दघाट । चाडपर्वलाई लक्षित गर्दै पश्चिम नवलपरासीको बर्दघाट बजारमा ३० वटा सडकबत्ती जडान गरिएको छ। बर्दघाट बजार विकास समितिले बजार क्षेत्रका व्यवसायी तथा सर्वसाधारणको रात्रिकालीन सुरक्षा र सहज आवतजावतलाई ध्यानमा राख्दै सडकबत्ती जडान गरेको हो।
समितिका अनुसार बर्दघाटका विभिन्न चोक तथा बजार क्षेत्रमा सडकबत्ती जडान गरिएको छ। ग्रीन पार्कको मुख्य बजार क्षेत्र, बाढीपीडित जाने चोकदेखि उत्तरतर्फ हाइवेसम्म, बजारनजिकको पार्किङ क्षेत्र, पश्चिमतर्फ पुरानो प्रहरी चौकी हुँदै दक्षिण मोहनी हल चोकसम्म, पूर्वतर्फ राधाकृष्ण मन्दिरसम्म तथा ग्रीन पार्कको भित्री बजार क्षेत्रमा गरी जम्मा ३० वटा सडकबत्ती जडान गरिएको हो।
सडकबत्तीको विद्युत् महसुल नगरपालिकाले व्यहोर्ने सहमति भएको छ भने सडकबत्ती खरिद तथा जडानलगायतका अन्य सम्पूर्ण खर्च बर्दघाट बजार विकास समितिले व्यहोरेको जनाएको छ।
बजार क्षेत्रको सुरक्षा थप मजबुत बनाउन समितिले वडा तथा नगरपालिकासँग सहकार्य गरी सीसीटीभी क्यामरा जडानका लागि समेत पहल गर्ने जनाएको छ। बजार विकास समितिका अध्यक्ष गोविन्द पाध्याले व्यापार व्यवसायको सुरक्षा र बजार क्षेत्रमा हुने सम्भावित गतिविधिको निगरानीका लागि सीसीटीभी आवश्यक भएकाले छिट्टै वडा वा नगरपालिकासँग सहयोग मागिने जानकारी दिए।
यसैगरी, बर्दघाटका अन्य क्षेत्रबाट समेत सडकबत्ती जडानका लागि माग आएको अध्यक्ष पाध्याले बताए। आर्थिक स्रोतको व्यवस्था हुन सके वडा नम्बर ४ का आवश्यक तथा प्राथमिकतामा परेका अन्यस्थानमा पनि क्रमशः सडकबत्ती जडान गरिने उनको भनाइ छ।
चाडपर्वको समयमा बजारमा चहलपहल बढ्ने भएकाले सडकबत्ती जडानले व्यवसायी तथा उपभोक्तालाई रातिको समयमा आवतजावत गर्न सहज हुनुका साथै बजारको सुरक्षा व्यवस्थामा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।