पश्चिम नवलपरासीको बर्दघाट–४ स्थित कुमुदिनी इङ्लिस बोर्डिङ स्कुलमा देउसी भैलो तथा रंगोली प्रतियोगिता सम्पन्न भएको छ। नेपाली मौलिक कला, संस्कृति, परम्परा र रीतिरिवाजको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले विद्यालयले प्रतियोगिता आयोजना गरेको हो।
प्रतियोगिताअन्तर्गत देउसी भैलोतर्फ कक्षा ६ देखि १० सम्मको सिनियर समूहमा रेड हाउस प्रथम भएको छ भने कक्षा ३ देखि ५ सम्मको जुनियर समूहमा पनि रेड हाउस नै प्रथम भएको छ।
त्यसैगरी रंगोली प्रतियोगिताको जुनियरतर्फ कक्षा ३ देखि ५ सम्म येल्लो हाउस प्रथम भएको छ भने सिनियरतर्फ कक्षा ६ देखि १० सम्म रेड हाउस प्रथम भएको छ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल रेश्मीराज बस्यालले विद्यार्थीलाई पाठ्यपुस्तकको ज्ञानसँगै आफ्नो मौलिक संस्कृति र परम्परासँग जोड्न आवश्यक रहेको बताए। उनले हाम्रा चाडपर्व, रीतिरिवाज र संस्कृति राष्ट्रिय पहिचान भएकाले यसको संरक्षण गर्नु सबैको दायित्व भएको बताए।
“पुस्तान्तरण हुँदै आएका मौलिक परम्पराको संरक्षण गर्न सकिएन भने भविष्यमा हाम्रो सांस्कृतिक पहिचान नै हराउन सक्छ। त्यसैले यसको संरक्षणको जिम्मेवारी नयाँ पुस्ताले लिनुपर्छ। विद्यार्थी नै भोलिका कर्णधार भएकाले उनीहरूलाई सानैदेखि आफ्नो संस्कृति र परम्पराको महत्व बुझाउनुपर्छ,” उनले भने।
विद्यालयकी अध्यक्ष कमला बस्यालले कुमुदिनी इङ्लिस बोर्डिङ स्कुलले शैक्षिक गतिविधिसँगै नेपाली कला, संस्कृति र परम्पराको संरक्षणलाई पनि प्राथमिकता दिँदै आएको बताइन्। विद्यालयले विभिन्न सांस्कृतिक तथा रचनात्मक कार्यक्रममार्फत विद्यार्थीलाई आफ्नो मौलिक पहिचानसँग जोड्ने प्रयास गर्दै आएको उनले बताइन्।
“विद्यार्थीलाई किताबी ज्ञानमा मात्र सीमित नराखी असल संस्कार, संस्कृति र सामाजिक मूल्य मान्यतासहितको जिम्मेवार नागरिक बनाउनु विद्यालयको दायित्व हो। कुमुदिनीले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै नयाँ पुस्तामा नेपाली कला, संस्कृति र परम्पराप्रति सम्मान र अपनत्व विकास गर्ने काम गर्दै आएको छ,” उनले भनिन्।
कार्यक्रममा विद्यालयका माध्यमिक तह संयोजक केदार चौधरीले स्वागत मन्तव्य राखेका थिए। देउसी भैलो प्रतियोगिताको निर्णायकमा गौरव हिताङ र विमल न्यौपाने रहेका थिए भने रंगोली प्रतियोगिताको निर्णायकमा शान्ति थापा र श्यामप्रसाद न्यौपाने रहेका थिए।
विद्यालयका प्रिन्सिपल रेश्मीराज बस्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयकी अध्यक्ष कमला बस्याल प्रमुख अतिथि तथा लेखनाथ शर्मा अतिथिका रूपमा सहभागी रहेका थिए। कार्यक्रम सञ्चालन शिक्षक ज्ञानप्रसाद बस्यालले गरेका थिए।