बर्दघाट ।
पश्चिम नवलपरासीको बर्दघाट–२, चिसापानीस्थित दिव्य ज्योति बहुमुखी क्याम्पसको नवौँ क्याम्पस सभा सम्पन्न भएको छ ।
क्याम्पसको सभाहलमा व्यवस्थापन समितिका अध्यक्ष पुण्यप्रसाद पौडेलको अध्यक्षता तथा संघीय सांसद विक्रम खनालको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो ।
सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि सांसद खनालले स्थानीय स्तरमै गुणस्तरीय र सर्वसुलभ शिक्षा प्रदान गर्दै शैक्षिक उन्नयन, दक्ष जनशक्ति निर्माण तथा सामाजिक रूपान्तरणमा क्याम्पसले खेलेको भूमिका प्रशंसनीय रहेको बताए । उनले समयअनुसार शिक्षालाई परिमार्जन गर्दै लैजानुपर्नेमा जोड दिँदै क्याम्पसले प्राविधिक धारतर्फका शैक्षिक कार्यक्रम सञ्चालनका लागि पहल गर्नुपर्ने धारणा व्यक्त गरे ।
क्याम्पसले हासिल गरेका उपलब्धि नगरवासी तथा जिल्लावासीका लागि गौरवको विषय भएको उल्लेख गर्दै उनले आगामी दिनमा क्याम्पसको शैक्षिक, भौतिक तथा संस्थागत विकास र स्तरोन्नतिका लागि सबै पक्षको निरन्तर सहयोग आवश्यक रहेको बताए ।
कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष पुण्यप्रसाद पौडेलले अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए भने क्याम्पस प्रमुख दीपकबहादुर खड्काले वार्षिक प्रगति प्रतिवेदन पेस गरेका थिए ।
सभामा राष्ट्रिय सभाका पूर्व सदस्य रामलखन हरिजन, बर्दघाट नगरपालिकाका उपप्रमुख रुद्रप्रकाश उपाध्याय, पूर्व नगरप्रमुख धीरज बस्याल, वडा नं. २ का वडाध्यक्ष गणेशबहादुर क्षेत्री, क्याम्पस सञ्चालक समितिका पूर्व अध्यक्षद्वय बृहस्पति अधिकारी र रुक्मागत ज्ञवाली, पूर्व क्याम्पस प्रमुख सागरमणि पाण्डे तथा प्राध्यापक प्रतिनिधि शीतल अधिकारीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष दया दर्लामीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन पूर्व क्याम्पस प्रमुख कृष्णबन्धु पौडेलले गरेका थिए ।
यसैबीच, सभामा निर्वाचन समितिका संयोजक रामकृष्ण पौडेलले क्याम्पस सञ्चालक समितिको नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेका छन् । उनका अनुसार आगामी असोज २७ गते बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म मतदान हुने कार्यक्रम तय गरिएको छ ।