निरन्तर उत्कृष्ट शैक्षिक नतिजा दिदै आएको पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नं.४ मा रहेको कुमुदिनी ईग्लिस बोर्डिङ्ग सेकेण्डरी स्कूलले कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुलाई स्वागत गरेको छ । आज एक कार्यक्रमकाविच विद्यालयले २०० जना विद्यार्थीहरुलाई स्वागत गरेको हो । बर्दघाट नगरपालिकाका पूर्व नगरप्रमुख धीरज शर्मा बस्यालको प्रमुख आतिथ्यता तथा कक्षा १२ मा अध्ययनरत छात्रा गंगा गिरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्र्दै प्रमुख अतिथि बस्यालले विद्यार्थीको सफलताको आधार अनुशासन, जिम्मेवारीबोध, लगनशीलता र अध्ययनशीलता भएको बताएका छन्। उनले विद्यार्थीले समयको सही सदुपयोग गर्दै नियमित अध्ययन गर्ने, शिक्षक तथा अभिभावकको सुझावलाई आत्मसात् गर्ने र आफूले पाएको जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्ने बानी विकास गर्नुपर्नेमा जोड दिए। अभिभावकले आफ्ना सन्तानबाट राम्रो शिक्षा, असल व्यवहार र उज्ज्वल भविष्यको अपेक्षा राख्ने भएकाले विद्यार्थीले ती अपेक्षालाई आफ्नो मेहनत र सकारात्मक व्यवहारमार्फत पूरा गर्न प्रयास गर्नुपर्ने उनको भनाइ छ। उनले किताबी ज्ञानसँगै नैतिक शिक्षा, संस्कार, सामाजिक जिम्मेवारी र व्यावहारिक ज्ञानलाई पनि प्राथमिकता दिनुपर्ने बताए। विद्यार्थी आजको मेहनत र अनुशासनबाट नै भोलिको सक्षम नागरिक बन्ने भएकाले अभिभावक, शिक्षक र विद्यालयले विद्यार्थीको प्रतिभा पहिचान गरी उचित मार्गदर्शन गर्नुपर्नेमा समेत उनले जोड दिए।
त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्रधानाध्यापक रेश्मीराज बस्यालले कुमुदिनी इङ्लिस सेकेन्डरी बोर्डिङ स्कुलले विद्यार्थीमा रहेको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउँदै उनीहरूको भविष्यको सपना साकार पार्ने वातावरण निर्माणलाई प्राथमिकतामा राखेको बताए। उनले विद्यार्थीको शैक्षिक विकाससँगै सिर्जनात्मकता, नेतृत्व क्षमता, अनुशासन र व्यावहारिक ज्ञान अभिवृद्धि गर्न विद्यालयले विभिन्न अतिरिक्त तथा रचनात्मक गतिविधिलाई निरन्तरता दिइरहेको जानकारी दिए। विद्यालयमा दक्ष तथा अनुभवी विषयगत शिक्षक, प्रविधिमैत्री कक्षाकोठा, अध्ययनका लागि अनुकूल वातावरण तथा आवश्यक शैक्षिक पूर्वाधार थप गर्दै गुणस्तरीय शिक्षाको वातावरण निर्माणमा विद्यालय निरन्तर लागिरहेको उनको भनाइ थियो। विद्यार्थीको रुचि, क्षमता र सम्भावनालाई पहिचान गरी सोहीअनुसार अवसर र मार्गदर्शन प्रदान गर्ने तथा अभिभावकको विश्वास र अपेक्षालाई परिणाममुखी शिक्षामार्फत पूरा गर्ने लक्ष्य विद्यालयले लिएको उनले बताए। साथै, अनुशासित, आत्मविश्वासी, सिर्जनशील र जिम्मेवार नागरिक उत्पादन गर्नु नै कुमुदिनीको प्रमुख उद्देश्य रहेको प्रधानाध्यापक बस्यालले उल्लेख गरे।
कार्यक्रममा विद्यार्थीहरुमा भएका प्रतिभाहरु गायन तथा नृत्य आ आफ्ना रुचि अनुसार प्रस्तुत गरिएको थियो । कार्यक्रममा विद्यालयका अध्यक्ष कमला शर्मा, सहायक प्रधानाध्यापक लेखनाथ शर्मा, कक्षा ११ र १२ का संयोजक केदार चौधरी, कक्षा ६–८ प्रशासनिक संयोजक दिपक बराल, तथा अन्य विषयगत शिक्षक र कक्षा ११ र १२का विद्यार्थीको सहाभागितामा कार्यक्रम सम्पन्न गरिएको थियो । उक्त कार्यक्रमको संञ्चालन कक्षा १२ मा अध्ययनरत छात्राद्वय दिया घिमिरे र रोजीना काप्mलेले गरेका थिए ।


