बर्दघाट ।
पश्चिम नवलपरासीको बर्दघाट–४ स्थित कुमुदिनी इङ्लिस सेकेन्डरी बोर्डिङ स्कुलमा तीज गीत प्रतियोगिता सम्पन्न भएको छ। विद्यार्थीमा रहेको प्रतिभा प्रस्फुटन गराउने तथा तीज पर्वको मौलिकता र सांस्कृतिक पक्षबारे जानकारी गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको विद्यालयले जनाएको छ।
विद्यालयका प्रधानाध्यापक रेश्मीराज बस्यालले तीज गीत प्रतियोगिता विद्यार्थीमा रहेको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउने महत्वपूर्ण माध्यम भएको बताए। विद्यालयले प्रतियोगितालाई अतिरिक्त क्रियाकलापअन्तर्गत समावेश गरेको उनले जानकारी दिए।
तीज पर्वले पौराणिक तथा सांस्कृतिक महत्व बोकेको उल्लेख गर्दै बस्यालले पछिल्लो समय महिलाले आफ्ना मनका वेदना, सामाजिक असमानता तथा विभिन्न समस्यालाई गीतमार्फत साथी–सँगीसँग व्यक्त गर्ने माध्यमका रूपमा समेत तीज विकसित भएको बताए। यसले समाजमा हुने विकृति र विसंगतिविरुद्ध सचेत हुनसमेत प्रेरित गर्ने उनको भनाइ थियो।
विद्यालयका सहायक प्रधानाध्यापक लेखनाथ शर्माले बढ्दो विकृति अन्त्य गर्दै तीजको मौलिकता र सांस्कृतिक पहिचान जोगाउने जिम्मेवारी नयाँ पुस्ताको समेत रहेको बताए। उनले तीज पर्वले महिलाको शारीरिक, मानसिक तथा संवेगात्मक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने धारणा व्यक्त गरे।
कार्यक्रम विद्यालयका प्रधानाध्यापक रेश्मीराज बस्यालको अध्यक्षतामा सम्पन्न भएको थियो। सहायक प्रधानाध्यापक लेखनाथ शर्माले स्वागत मन्तव्य दिएका थिए भने कार्यक्रमको सञ्चालन अतिरिक्त क्रियाकलाप संयोजक ज्ञानप्रसाद बस्यालले गरेका थिए।
कक्षा ३ देखि ५ सम्मको कक्षागत तीज गीत प्रतियोगितामा १२ समूह सहभागी भएका थिए। प्रतियोगितामा कक्षा ४ को मेची समूह प्रथम, कक्षा ५ को सेती समूह द्वितीय र कक्षा ३ को राप्ती समूह तृतीय भएका छन्।
त्यसैगरी कक्षा ६ देखि ९ सम्मका विद्यार्थीबीच चार सदनबीच भएको सदनात्मक प्रतियोगितामा रेड हाउस (दाउन्नेदेवी सदन) प्रथम भएको छ। प्रथम हुने सदनलाई नगद पुरस्कारसहित सम्मान गरिएको विद्यालयले जनाएको छ।
विद्यालयले यस्ता सांस्कृतिक तथा अतिरिक्त क्रियाकलापले विद्यार्थीको सिर्जनशीलता, आत्मविश्वास, नेतृत्व क्षमता र सांस्कृतिक चेतना विकासमा सहयोग पुग्ने जनाएको छ।

