बर्दघाट, भदौ २७
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नवलपरासीले बर्दघाटमा पाँचौँ जिल्ला स्तरीय जुनियर युवा रेडक्रस गोष्ठी सम्पन्न गरेको छ।
बर्दघाटस्थित न्यू लाइफमा आयोजित गोष्ठीको उद्घाटनअघि प्रभातफेरी निकालिएको थियो। विभिन्न विद्यालयका जुनियर युवा रेडक्रसमा आबद्ध विद्यार्थीहरूको सहभागितामा निकालिएको प्रभातफेरीले बर्दघाट बजारको परिक्रमा गरेको थियो।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नवलपरासीका सदस्य तथा जुनियर जिल्ला संयोजक घनश्यामप्रसाद यादवको अध्यक्षता तथा बर्दघाट नगरप्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको गोष्ठीमा जिल्लाका ६० वटा जुनियर युवा रेडक्रस सर्कलको सहभागिता रहेको थियो।
गोष्ठीका क्रममा जुनियर युवा रेडक्रसमा आबद्ध विद्यार्थीहरूका लागि विभिन्न तालिम सञ्चालन गरिएको थियो। साथै नायब शिक्षकहरूसँग छुट्टै अन्तरक्रिया तथा छलफलसमेत गरिएको थियो।
गोष्ठीको उद्घाटन गर्दै नगरप्रमुख शम्भुलाल श्रेष्ठले समाजमा आइपर्ने हरेक आपत्–विपद्का समयमा रेडक्रस सहयोगीका रूपमा अगाडि बढ्दै आएको बताए । उनले प्राथमिक उपचारसम्बन्धी ज्ञान तथा सीपसँगै नेतृत्व, अनुशासन र सेवाभाव सिकाउने अभियानमा जोडिएका विद्यार्थीहरूलाई धन्यवाद दिए।
नगर उपप्रमुख रुद्रप्रकाश उपाध्यायले पाँचौँ जिल्ला स्तरीय जुनियर युवा रेडक्रस गोष्ठी बर्दघाटमा आयोजना गरिएकोमा धन्यवाद व्यक्त गर्दै सानै उमेरदेखि विद्यार्थीहरूलाई मानवीय सेवामा लाग्न प्रेरित गर्नु पुण्यको काम भएको बताए।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशका कोषाध्यक्ष हेदर अली मोमिन, जिल्ला सभापति राजेन्द्रप्रसाद अग्रहरी, उपसभापति कृष्णप्रसाद लामिछाने, शिक्षा विकास तथा समन्वय इकाइका प्रतिनिधि सुवास गौतम, न्यू लाइफ माध्यमिक विद्यालयका प्रबन्ध निर्देशक डी.बी. अधिकारीलगायत जिल्ला शाखा तथा बर्दघाट उपशाखाका पदाधिकारी र कार्यसमिति सदस्यहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा जिल्ला शाखाले सञ्चालन गरेका विद्यालयस्तरीय गतिविधिको प्रतिवेदनसमेत प्रस्तुत गरिएको थियो।
प्रतिवेदनअनुसार जिल्लामा ६२ वटा जुनियर युवा रेडक्रस सर्कलमा ४ हजार ६ सय ५० विद्यार्थी आबद्ध रहेका छन्। तीमध्ये १ हजार ४ सय ५० जना छात्र र ३ हजार २ सय जना छात्रा रहेका छन्।
जिल्ला शाखाले विद्यालयस्तरमा हाजिरी जवाफ प्रतियोगिता, नेतृत्व विकास तालिम, वक्तृत्वकला प्रतियोगिता, कविता प्रतियोगितालगायतका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। यस्तै, प्रदेश तथा जिल्ला स्तरीय जुनियर युवा रेडक्रस गोष्ठीसमेत आयोजना गर्दै आएको प्रतिवेदनमा उल्लेख छ।