नेपाल हृदयरोग निवारण प्रतिष्ठान नवलपरासी जिल्ला शाखाले विद्यार्थीहरूका लागि स्वस्थ मुटुसम्बन्धी अभिमुखीकरण तालिम सञ्चालन गरेको छ।
विश्व मुटु दिवस–२०२६ को अवसरमा जगन्नाथ माध्यमिक विद्यालय, भूमहीमा आयोजित कार्यक्रममा विद्यालयका ८० जना विद्यार्थी सहभागी भएका थिए। कार्यक्रममा मुटुलाई स्वस्थ राख्ने उपाय, हृदयरोगका कारण, जोखिम न्यूनीकरण तथा स्वस्थ जीवनशैलीका विषयमा प्रशिक्षण दिइएको थियो।
कार्यक्रमको अध्यक्षता नेपाल हृदयरोग निवारण प्रतिष्ठान नवलपरासीका जिल्ला सभापति डा। विक्रम ज्ञवालीले गरेका थिए। प्रमुख प्रशिक्षक तथा कार्यक्रमको सहजीकरण कन्सल्टेन्ट फिजिसियन डा। दीपक पौडेलले गरेका थिए।
कार्यक्रममा जगन्नाथ माध्यमिक विद्यालय भूमहीका प्रधानाध्यापक कर्णबहादुर राडी मगर, विद्यालय संयोजक गणेशप्रसाद अर्याल, नेपाल हृदयरोग निवारण प्रतिष्ठान नवलपरासीका उपसभापति यमबहादुर थापा, कोषाध्यक्ष मनकाजी गुरुङ र सहकोषाध्यक्ष मनिता श्रेष्ठ अतिथिका रूपमा सहभागी थिए।
कार्यक्रममा स्वागत तथा कार्यक्रमबारे जानकारी जिल्ला सभापति डा। विक्रम ज्ञवालीले दिएका थिए भने प्रधानाध्यापक कर्णबहादुर राडी मगरले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन प्रतिष्ठान नवलपरासीका सचिव डोलराज भण्डारीले गरेका थिए।
विद्यालय तहका विद्यार्थीलाई सानै उमेरदेखि मुटु स्वास्थ्य, नियमित शारीरिक व्यायाम, सन्तुलित आहार तथा स्वस्थ जीवनशैलीका विषयमा सचेत गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।