बर्दघाट । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–१४, शुक्रबस्तीस्थित शुक्र प्राथमिक विद्यालयमा सरस्वती माताको मन्दिर निर्माण गरिएको छ। देश तथा विदेशमा रहेका नेपालीहरूको आर्थिक सहयोगमा विद्यालय परिसरमा मन्दिर निर्माण गरिएको हो।
लुम्बिनी समाज कुवेतका प्रथम उपाध्यक्ष अमृत गुरुङको अगुवाइमा सञ्चालन गरिएको सहयोग संकलन अभियानबाट कुल ४ लाख २४ हजार ६ सय ५५ रुपैयाँ संकलन भएको थियो। संकलित रकमबाट विद्यालय परिसरमा सरस्वती मन्दिर निर्माण गर्नुका साथै साना बालबालिकाहरूका लागि ई.रिक्सा तथा चिप्लेटीसमेत निर्माण गरिएको छ।
यसैगरी, गुरुङले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि खेलकुद सामग्री तथा स्टेसनरी सामग्रीसमेत आफ्नै लगानीमा उपलब्ध गराएका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अमृत गुरुङले स्थानीयस्तरमा रहेका विद्यालयहरूको शैक्षिक गुणस्तर सुधारका लागि समाजका सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्ने बताए। आर्थिक सहयोग तथा सामूहिक प्रयासबाट विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्ने वातावरण निर्माण गर्न सकिने उल्लेख गर्दै उनले विद्यालयको विकासका लागि सबैको एकमत र सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे। साथै, सहयोग अभियानमा देश तथा विदेशबाट साथ दिने सम्पूर्ण सहयोगी मनहरूप्रति धन्यवाद व्यक्त गरे।
कार्यक्रममा विद्यालय स्थापनाकालदेखि हालसम्मको अवस्थाबारे चर्चा गर्दै बृहस्पति अधिकारीले सबैको साथ र सहयोगबाट खरको छानामुनि सञ्चालन भएको विद्यालयलाई गुणस्तरीय भवन निर्माण गर्न सफल भएको बताए। यद्यपि, विद्यालय स्थापनाका क्रममा गरिएको प्रतिबद्धताअनुसार विद्यालय सञ्चालन गर्न नसकिएको उल्लेख गर्दै उनले विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि अझै सबैको साथ र सहयोग आवश्यक रहेको बताए।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अमृत गुरुङ प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा निर्मला लामिछानेले स्वागत मन्तव्य राखेकी थिइन् भने विद्यालयको आयव्यय विवरण प्रधानाध्यापक राधिका पाण्डेले प्रस्तुत गरेकी थिइन्। कार्यक्रमको सञ्चालन उमा अधिकारीले गरेकी थिइन्।
कार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारी, अभिभावक, चन्दादाता, शिक्षाप्रेमी, स्थानीय समाजसेवी तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो।