अन्नपूर्ण चक्रीय पदमार्गमा पर्यटक आउने मुख्य याम सुरु भए पनि अविरल वर्षा र बाढीपहिरोका कारण सयौँ पर्यटक मनाङमै रोकिएका छन्। माथिल्लो मनाङमा हिमपात र तल्लो मनाङमा मर्स्याङ्दी नदीको बाढीले सडकको ट्र्याक कटान गरेपछि पर्यटक आवतजावत प्रभावित भएको हो।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) एकाइ मनाङका प्रमुख ढकबहादुर भुजेलका अनुसार मर्स्याङ्दी नदी थुनिएपछि माथिल्लो मनाङ पुगेका पर्यटक उतै रोकिएका छन् भने तल्लो मनाङमा रहेका पर्यटक पनि बाहिरिन सकेका छैनन्।
अन्नपूर्ण पदमार्गअन्तर्गत थोराङ्ला पास गर्न गएका केही पर्यटकसमेत बाक्लो हिमपात भएपछि मनाङ फर्किएका छन्।
“माथिल्लो मनाङ आइपुगेका २२६ विदेशी पर्यटकको दर्ता भएको छ भने ४४ जना फर्किएका छन्,” भुजेलले भने, “करिब १५० भन्दा बढी थोराङ्ला पास गर्न गएका पर्यटक हिउँ बाक्लो भएपछि फर्किएर मनाङ आइपुगेका छन्। मनाङ गाउँमा रहेका पर्यटक सुरक्षित छन्।”
उनका अनुसार थोराङ्ला पास गर्ने पर्यटकलाई मुस्ताङबाट हेलिकप्टरमार्फत फर्कन सक्ने भएकाले त्यसतर्फ जान अनुमति दिइएको छ। बिरामी तथा प्रवेशाज्ञाको अवधि सकिएका केही पर्यटकलाई भने हेलिकप्टरबाट उद्धार गरिएको छ।
हिमपातका बेला मनाङ गाउँमा पर्यटकको चाप धेरै भए पनि सञ्चार र विद्युत् सेवा अवरुद्ध भएकाले अहिले त्यहाँ रहेका पर्यटकको यकिन संख्या पत्ता लगाउन कठिन भएको भुजेलले बताए।
एक्यापका पर्यटन शिक्षा सहायक भूपेन्द्र गुरुङका अनुसार धारापानी चेकपोस्टमा सेप्टेम्बर २२ देखि २८ सम्म ५९० विदेशी पर्यटकको दर्ता भएको थियो। तीमध्ये अविरल वर्षा र बाढीपहिरोका कारण १४६ जना फर्किएका छन्।
“माथिल्लो मनाङ पुगेका पर्यटक माथि नै छन् भने चामेदेखि तल रहेका पर्यटक पनि यहीँ छन्,” गुरुङले भने, “बाटोको ट्र्याक नै मर्स्याङ्दी नदीले कटान गरेपछि फर्कने अवस्था छैन। पर्यटक यहीँ रहेका छन्।”
सडक कटानले आवतजावतमा समस्या
अविरल वर्षापछि मर्स्याङ्दी नदीमा आएको बाढीले मनाङका विभिन्न स्थानमा सडकको ट्र्याक कटान गरेको छ। कतिपय स्थानमा सडक भासिएको र कतिपय ठाउँमा सडकको भाग नै नदीले बगाएपछि यातायात सञ्चालन हुन सकेको छैन।
भासिएका सडकमा नयाँ ट्र्याक निर्माण गर्न नसकिएसम्म पर्यटकसँगै स्थानीयवासीको आवतजावत पनि सहज हुने अवस्था छैन। सडक कटानका कारण निर्माण तथा उद्धारका उपकरणसमेत प्रभावित क्षेत्रमा पुर्याउन कठिन भएको छ।
वर्षा र बाढीका कारण एकातिर माथिल्लो मनाङमा हिमपातले पदयात्रा प्रभावित भएको छ भने अर्कोतर्फ तल्लो क्षेत्रमा मर्स्याङ्दीको कटानले सडक सम्पर्क अवरुद्ध भएको छ। नयाँ ट्र्याक निर्माण गरी सडक सञ्चालनमा नल्याएसम्म मनाङ पुगेका पर्यटक तथा स्थानीयवासीको आवतजावत सहज हुने अवस्था देखिएको छैन।