पश्चिम नवलपरासी । सरकारी छाप र लेटरप्याड दुरुपयोग मुद्दामा पक्राउ परेका प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेश चन्द्र यादवलाई ३ दिन थुनामा राख्न म्याद थप भएको छ ।
सोमबार जिल्ला प्रहरी कार्यालयले पक्राऊ गरेको यादवलाई प्रहरीले म्याद थपका लागि अदालत लगेकोमा नवलपरासी जिल्ला अदातलबाट ३ दिनका लागि म्याद थप भएको प्रहरीले जनाएको छ ।
म्याद थप भएपछि यादवमाथी थप अनुसन्धान प्रकृया अगाडि बढेको छ ।
नेपाली कांग्रेसबाट २०७९ को स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्षमा निर्वाचित यादवलाई जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीमा आज आत्मसमर्पण गरेपछि पक्राउ गरिएको हो ।
यादवविरुद्ध भारत, बिहारको पश्चिम चम्पारण जिल्लास्थित बाल्मिकीनगरमा रहेको सम्पर्क तथा भूआर्जन कार्यालय, गण्डक योजनाका नेपालतर्फका भूआर्जन अधिकृत शोभित हलुवाईले २०८३ जेठ ६ गते इलाका प्रहरी कार्यालय बेलाटारीमा जाहेरी दिएका थिए ।
जाहेरीका आधारमा जिल्ला अदालतले यादवविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जीविरुद्ध यादवले उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा निषेधाज्ञाको माग गर्दै निवेदन दिएका थिए ।
उच्च अदालतले साउन २९ गते अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने ठहर गरेपछि यादवलाई पक्राउ गर्न प्रहरीलाई बाटो खुलेको थियो ।
उच्च अदालतको आदेशविरुद्ध यादव सर्वोच्च अदालत पुगेका थिए । उनका कानुन व्यवसायीले सर्वोच्चमा रजिष्ट्रार कार्यालयबाट भएको दरपीठ आदेश बदर गरी रिट दर्ता गर्न माग गरेका थिए ।
उक्त निवेदनमाथि न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले रजिष्ट्रार कार्यालयले रिट दर्ता नगरेको विषयमा हस्तक्षेप गर्नुपर्ने अवस्था नदेखिएको भन्दै ‘नियमानुसार गर्नु’ भनी आदेश दिएको थियो ।
सर्वोच्चबाट समेत कानुनी उपचारको बाटो तत्काल नखुलेपछि यादव लामो समयदेखि भारतमा बसेको प्रहरी स्रोतको दाबी छ । राजनीतिक पहुँचका आधारमा पक्राउबाट जोगिन सक्ने अवस्था नरहेपछि उनी आज जिल्ला प्रहरी कार्यालय पुगेको स्रोतले जनाएको छ ।
यादवले आत्मसमर्पण गरेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएर सरकारी छाप तथा लेटरप्याड कीर्ते तथा दुरुपयोगसम्बन्धी अभियोगमा आवश्यक अनुसन्धान अघि बढाएको छ ।