बर्दघाट, नवलपरासी पश्चिम। कुमुदिनी अंग्रेजी माध्यमिक विद्यालय, बर्दघाट–४, नवलपरासी पश्चिममा विद्यालयको भाषा र साहित्य क्लब को आयोजनामा विद्यार्थीहरूबीच कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा कक्षा ४ देखि १० सम्मका २५ समूह को उत्साहजनक सहभागिता रहेको थियो।
शिक्षक दिपक बराल को अध्यक्षतामा सम्पन्न कार्यक्रममा बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति डा. घनश्याम न्यौपाने ‘परिश्रमी’ प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष कमला शर्मा, प्रधानाध्यापक रेश्मिराज बस्याल तथा सहायक प्रधानाध्यापक लेखनाथ शर्मा अतिथिका रूपमा उपस्थित रहेका थिए।
.jpeg)
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डा। घनश्याम न्यौपाने ‘परिश्रमी’ ले कविता वाचन प्रतियोगिताले विद्यार्थीको भाषा, साहित्य र व्यक्तित्व विकासमा महत्वपूर्ण योगदान पुर्याउने बताए। उनले यस्ता प्रतियोगिताले आत्मविश्वास बढाउने, स्पष्ट उच्चारण, प्रभावकारी अभिव्यक्ति, सिर्जनात्मक सोच, स्मरणशक्ति तथा सार्वजनिक रूपमा बोल्ने कला विकास गर्न मद्दत पुग्ने उल्लेख गर्दै विद्यार्थीलाई साहित्यप्रति आकर्षित गर्ने र संस्कारयुक्त नागरिक बन्न प्रेरित गर्ने धारणा व्यक्त गरे।
विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष कमला शर्मा ले विद्यालयमा सञ्चालन हुने अतिरिक्त तथा सह–पाठ्यक्रम गतिविधिले विद्यार्थीको सर्वाङ्गीण विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताईन। उनले शैक्षिक उपलब्धिसँगै साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा पनि विद्यालयले निरन्तर जोड दिदै आईरहेको बताईन।
-1785342845.jpeg)
प्रधानाध्यापक रेश्मिराज बस्यालले विद्यार्थीको लुकेको प्रतिभा उजागर गर्न यस्ता प्रतियोगिता प्रभावकारी माध्यम हुने बताए। उनले कविता वाचनमार्फत विद्यार्थीमा भाषिक दक्षता, अध्ययनप्रतिको रुचि, एकाग्रता, नेतृत्व क्षमता र मञ्च प्रस्तुति गर्ने सीपको विकास हुने भएकाले विद्यालयले यस्ता सिर्जनात्मक कार्यक्रमलाई प्राथमिकता दिएको जानकारी दिए।
सहायक प्रधानाध्यापक लेखनाथ शर्माले कविता वाचनले विद्यार्थीमा अनुशासन, सकारात्मक सोच, भाव अभिव्यक्ति र स्वस्थ प्रतिस्पर्धाको भावना विकास हुने उल्लेख गर्दै यस्ता कार्यक्रमले भविष्यका सक्षम वक्ता, लेखक तथा सर्जक उत्पादन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
कार्यक्रमको अध्यक्षता गर्दै शिक्षक दिपक बरालले भाषा र साहित्य क्लबले विद्यार्थीमा नेपाली भाषा, साहित्य र सिर्जनात्मक क्षमताको विकास गर्ने उद्देश्यका साथ यस्ता कार्यक्रम आयोजना गर्दै आएको बताए। उनले प्रतियोगिताले विद्यार्थीमा आत्मविश्वास अभिवृद्धि गर्नुका साथै आफ्ना भावना र विचारलाई प्रभावकारी रूपमा प्रस्तुत गर्ने क्षमता विकास गरेको उल्लेख गरे ।
-1785342884.jpeg)
कार्यक्रमको सञ्चालन शिक्षक ज्ञान प्रसाद बस्यालले गरेका थिए भने लोकजी मिजार र उत्तमध्वज केसीले निर्णायकको भूमिका निर्वाह गरेका थिए।
प्रतियोगितामा कक्षा ४ देखि ६ र कक्षा ७ देखि १० गरी दुई समूहमा प्रतिस्पर्धा गराइएको थियो। कक्षा ४ देखि ६ समूहअन्तर्गत दिपा बस्यालको समूह प्रथम, आर्जु बस्यालको समूह द्वितीय तथा खुस्बु गुरुङको समूह तृतीय भएको थियो। त्यसैगरी कक्षा ७ देखि १० समूहअन्तर्गत श्रीयान्सी न्यौपानेको समूह प्रथम, कृतिका घिमिरेको समूह द्वितीय तथा प्रशन्ना अर्यालको समूह तृतीय भएका थिए।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले राष्ट्रप्रेम, सामाजिक चेतना, प्रकृति, नैतिक शिक्षा तथा मानवीय संवेदनासँग सम्बन्धित कविताहरू प्रभावशाली शैलीमा वाचन गरेका थिए। प्रतियोगिताले विद्यालय परिसरलाई साहित्यिक वातावरणले भरिपूर्ण बनाएको थियो।
आयोजक भाषा र साहित्य क्लब का अनुसार यस्ता कार्यक्रमले विद्यार्थीको भाषिक दक्षता, साहित्यप्रतिको रुचि, सिर्जनात्मक सोच, आत्मविश्वास तथा सार्वजनिक रूपमा बोल्ने क्षमताको विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।