बर्दघाट ।
पश्चिम नवलपरासी बर्दघाट नगरपालिका–४ मा रहेको कुमुदिनी इङ्लिस बोर्डिङ सेकेन्डरी स्कुलले बाढीपीडितका लागि रु. १ लाख ५१ हजार १११ आर्थिक सहयोग गरेको छ। विद्यालयले रसुवा भोटेकोसीको बाढिका कारण विभिन्न जिल्लामा भएका पिडितहरुलाई सहयोगार्थ प्रधानमन्त्री विपद् राहत कोषमा विद्यार्थी, शिक्षक, कर्मचारी तथा विद्यालय मिलेर राहत उपलब्ध गराएको हो ।
विद्यालयका अध्यक्ष धीरज शर्मा बस्यालले विद्यालयका साना बालबालिकाले आफ्ना खाजा खर्चबाट समेत स्वतःस्फूर्त रूपमा रकम संकलन गरेको बताए। बाढीपीडितको अवस्था देखेर मर्माहत भएका शिक्षक तथा कर्मचारीले समेत विपद्को विषम परिस्थितिमा सबैमा साथ र सहयोगको भावना जगाउन आर्थिक सहयोग गरेको उनले बताए।
बस्यालका अनुसार बालबालिका, शिक्षक तथा कर्मचारीको सामूहिक सहभागिताबाट संकलित रकम विपद्मा परेका नागरिकको राहतका लागि प्रदान गरिएको हो।
त्यस्तै, विद्यालयका प्रधानाध्यापक रेश्मीराज बस्यालले पूर्वविद्यार्थी, शिक्षक, कर्मचारी, अभिभावक, शुभेच्छुक तथा देश–विदेशमा रहेका नेपालीहरूलाई समेत विपद्मा परेका नागरिकलाई आवश्यक सहयोग गर्न अपिल गरेका छन्।
प्याब्सन जिल्ला अध्यक्ष डम्बर गुरुङ्गका अनुसार उत्त रकम प्याब्सन मार्फत प्रधानमन्त्री विपद् राहत कोषमा जम्मा गरिने बताए ।
विद्यालयले उक्त रु.१ लाख ५१ हजार १११ रकम प्याब्सन जिल्ला अध्यक्ष डम्बर गुरुङमार्फत प्रधानमन्त्री विपद् राहत कोषमा हस्तान्तरण गरेको जनाएको छ।
विद्यालयले प्राकृतिक विपद्मा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ।
.jpeg)